

विद्यानाथ कोइरालाको विश्लेषणमा राजनीतिक दलहरूले सिर्जेको दलदल
२०७२ सालमा संविधान निर्माण भए पश्चात, संघीय लोकत्रान्तिक गणतन्त्र नेपालको सरकारले आफ्नो पहिलो ५ वर्षको कार्यकाल समापन गरि, हालै सम्पन्न तिनै तहको निर्वाचन पछाडि, दोस्रो सरकार गठन र सञ्चालनको प्रक्रिया अगाडि बढेको स्थिति छ | यसै परिप्रेक्षमा, आज हामी देशमा भैरहेको राजनीतिक खिचातानी र हारजितको अन्तरङ्गमा रहेर, आजका हाम्रा अतिथि प्रा. डा. विद्यानाथ कोइरालाको कान्तिपुर दैनिकमा गत पुष ७ गते प्रकाशित लेख “राजनीतिक दलहरूले सिर्जेको दलदल” को सेरोफेरोमा संवाद गर्ने छौं |
आजको भागमा पी. ई. आई. का जनक पोख्रेल, डा. विद्यानाथ कोइराला सँग संवादमा बस्दैछन्, जहाँ उनी डा. कोइरालाको लेख र उहाँले एउटा शिक्षाविद्को हैसियतमा लामो समय देखि गर्दै आउनुभएको शिक्षाका काम, कुरा र अनुभवका बारेमा कुराकानी गर्नेछन्! आजको भागमा डा. कोइरालाले नेपालमा रहेका राजनैतिक दल, तिनका नेता र तिनले आफ्ना अनुयायीहरूलाई कस्तो शिक्षा प्रदान गरिराखेका छन् भनेर अहिलेको हाम्रो राजनीतिक पृष्ठभूमिसँग जोडेर हेर्न खोज्नु भएको छ |
डा. कोइराला त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक हुनुहुन्छ। उहाँ सँग राष्ट्रिय योजना आयोग, शिक्षा मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय र एसिया फाउन्डेसन नेपाल, एसियाली विकास बैंक, जाइका, युनेस्को, युरोपेली शिक्षा आयोग जस्ता अन्तर्राष्ट्रिय महत्वका संस्थाहरूका लागि रणनीतिक योजना र कार्यक्रममा काम गरेको लामो र उदाहरणीय अनुभव छ। यसमा उहाँको भूमिका पाठ्यक्रम विकास गर्ने र शिक्षाको विकेन्द्रीकरण, अनौपचारिक शिक्षा, शिक्षामा लैङ्गिक, जातीय, र अपाङ्गताका समस्याहरूलाई सम्बोधन गर्ने रहेको छ।